आगामी महाधिवेशनमा सभापतिको दाबेदारी : डा. शेखर कोइराला
२०८२ पुष २, बुधबार १९:१८
विराटनगर, पुस २ (बुधबार) — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई सही ट्र्याकमा ल्याउन फागुन २१ गते निर्वाचन अपरिहार्य भएको बताएका छन्।
बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार बनेयता संविधान ट्र्याकबाहिर गएको आरोप लगाए। तोकिएको मितिमा निर्वाचन नभए देश गम्भीर संवैधानिक संकटतर्फ धकेलिने चेतावनी दिँदै कांग्रेसले निर्वाचनमै जोड दिएको स्पष्ट पारे।
सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उल्लेख गर्दै कोइरालाले समयमै निर्वाचन नभए संसद् पुनर्स्थापनाको सम्भावना बढ्ने दाबी गरे।
आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने विषयमा ढुक्क हुन उनले आग्रह गरे। पार्टी विधानअनुसार शेरबहादुर देउवा पुनः सभापतिको उम्मेदवार बन्न नमिल्ने र कांग्रेसको महाधिवेशन पनि समयमै हुनुपर्ने उनको जोड थियो।




