विराटनगर, ३ पुस बिहीबार  — नेकपा एमाले मोरङ जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भएकी विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी छन्।

निर्वाचन समितिका अनुसार संस्थापन समूहबाट उम्मेदवार बनेकी कार्कीले १ हजार ७ सय ४३ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएकी हुन्। गत फागुनमा सम्पन्न १०औँ जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भए पनि यसपटक उनी एमालेको केन्द्रीय राजनीतिमा प्रवेश गरेकी छन्।

जिल्ला अधिवेशनको अन्तिम चरणमा तत्कालीन इतर समूह छोडेर संस्थापन समूहमा खुलेकी कार्की उपसचिव पदमा पराजित भएकी थिइन्। उक्त अधिवेशनमा इतर पक्षकी उम्मेदवार उषा झा ४१८ मतसहित निर्वाचित हुँदा कार्कीले ४०५ मत पाएकी थिइन्।

मोरङ क्षेत्र नम्बर ६ की मतदाता रहेकी कार्की ११औँ महाधिवेशन प्रतिनिधि छनोटका क्रममा उक्त क्षेत्रबाट उम्मेदवार बनेकी थिइनन्। सो क्षेत्रबाट इतर समूहको प्यानल, विनोद ढकालसहित विजयी भएपछि उनी उम्मेदवारीबाट पछि हटेकी थिइन्।

महाधिवेशन उद्घाटनको अघिल्लो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले १०८ जना प्रतिनिधि मनोनयन गर्दा कार्की पनि सूचीमा परेकी थिइन्। सोही मनोनयनमार्फत प्रतिनिधि बनेकी कार्की केन्द्रीय सदस्यको निर्वाचनमा विजयी भएकी हुन्।

एमाले विराटनगरका एक नेताका अनुसार, “जिल्लामा उपसचिव पराजयपछि महाधिवेशन प्रतिनिधिमा पनि हार निश्चित देखिएपछि उहाँ उम्मेदवार नै बन्नुभएन। मनोनयनमार्फत प्रतिनिधि भएर केन्द्रीय सदस्यको चुनाव भने जित्नुभयो।”