गगन नेतृत्वको समितिको ढिलाइबीच देउवाले पदाधिकारीलाई शनिबार बोलाए
२०८२ पुष ४, शुक्रबार २०:०३
काठमाडौ विराटपाटी पुस ४ शुक्रबार ,गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको काम निर्धारित समयमै अघि बढ्न नसकिरहेका बेला नेपाली कांग्रेसभित्र नेतृत्व तहमा पुनः चासो बढेको छ। यही पृष्ठभूमिमा सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष पदाधिकारीहरूलाई छलफलका लागि बोलाएका छन्।
सभापति देउवाले पुस ५ शनिबार बिहान ९ बजे महाराजगञ्जस्थित आफ्नै निवासमा कार्यबाहक सभापति, उपसभापति तथा दुई महामन्त्रीसँग छलफल गर्ने तय भएको छ। बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछन्।
स्रोतका अनुसार महाधिवेशनको तयारी कुन चरणमा पुगेको छ भन्नेबारे प्रत्यक्ष जानकारी लिनु नै बैठकको मुख्य उद्देश्य हो। यससँगै राष्ट्रियसभा निर्वाचनका उम्मेदवार चयन, मुलुकको पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीतिबारे पनि देउवाले पदाधिकारीहरूसँग धारणा साट्ने तयारी गरेका छन्।
कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर, महामन्त्री गगन थापा नेतृत्वको समितिले क्रियाशील सदस्यता व्यवस्थापनमा अपेक्षित गति लिन नसक्दा महाधिवेशनको तयारीमै प्रश्न उठ्न थालेको छ। यही ढिलाइका बीच सभापति देउवाको सक्रियता पार्टीभित्र नयाँ सन्देशका रूपमा हेरिएको छ।




