सरकारलाई प्रचण्डको कडा सन्देश: चुनाव टार्ने खेल नचलाऊ
२०८२ पुष ५, शनिबार १८:३१
काठमाडौं, ५ पुस शनिबार , नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन गराउन सरकारलाई कडा चेतावनी दिएका छन्। चुनाव सारेर फेरि–फेरि संविधान मिच्ने दुस्साहस स्वीकार्य नहुने उनको स्पष्ट भनाइ छ।
बागमती प्रदेशस्तरीय एकता सन्देशसभामा बोल्दै प्रचण्डले अघिल्लो पटक संविधान मिचेर अन्तरिम सरकार गठन र संसद् विघटन भइसकेको स्मरण गराए। देशको असहज अवस्थालाई मध्यनजर गर्दै आफूहरूले सहजीकरण गरेको बताए पनि, शान्तिपूर्ण निर्वाचन अवरुद्ध भए नेकपा चुप नबस्ने चेतावनी दिए।
जनता र दलहरू चुनावमा जान चाहन्छन् तर केही तत्त्वले त्यसलाई प्रभावित पार्न खोजिरहेको उनको आरोप छ। मुलुकलाई संकटबाट जोगाउन घोषित मितिमै निर्वाचन अपरिहार्य भएको उनले दोहोर्याए। साथै, वाम शक्तिहरूलाई एकतामा जोडिन आह्वान गरे।
यसैबीच सह–संयोजक माधवकुमार नेपालले एकताबद्ध भएर चुनौती सामना गर्न तयार रहेको बताए। जनताले बहुमत दिए इमान्दारिताको ‘अग्निपरीक्षा’ सुरु हुने भन्दै एक पटक मौका दिन आग्रह गरे। युवाका मुद्दा अघि बढाउन जेन–जी पुस्तालाई पार्टीमा भित्र्याउँदै निरन्तर संवाद र अभियान चलाइने पनि उनले बताए।




