चितवन पुस ५ शनिबार , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिलाई व्यक्तिगत स्वार्थ होइन, समाज परिवर्तन र जनसेवाको माध्यम बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

उज्यालो नेपाल पार्टी चितवन जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले व्यक्ति केन्द्रित र निहित स्वार्थबाट निर्देशित राजनीतिले समाजलाई समस्या मात्रै दिएको उल्लेख गरे। अबको आवश्यकता विकास, सुशासन र जनताको जीवन परिवर्तनमा केन्द्रित राजनीति भएको उनले बताए।

‘राजनीति गाली–गलौजको विषय होइन, कर्मको विषय हो,’ मन्त्री घिसिङले भने, ‘राजनीतिलाई पेशा होइन, सेवाका रूपमा लिनुपर्छ। अबको राजनीति समर्पण र जिम्मेवारीबाट निर्देशित हुनुपर्छ।’

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू डा. आशुतोष विजय पन्त, रिमा विश्वकर्मा र सीता पाण्डेले पछिल्लो राजनीतिक परिवर्तनमा आफ्नो योगदान रहेको दाबी गर्दै उज्यालो नेपाल पार्टी नयाँ सोच र विकल्पका साथ अघि बढेको बताए।

बागमती प्रदेश संयोजक प्रवीन तामाङको अध्यक्षतामा सम्पन्न भेलाले जिल्ला, नगर तथा पालिका स्तरका आगामी भेलाको मितिसमेत तय गरेको छ।