महाधिवेशन केन्द्रित छलफलका लागि गच्छदार–कोइराला भेट
२०८२ पुष ५, शनिबार १९:५३
विराटनगर पुस ५ शनिबार ,नेपाली कांग्रेसको आसन्न महाधिवेशनको चहलपहल तीव्र बन्दै गएको बेला आज विराटनगरस्थित कोइराला निवासमा पूर्व उपप्रधानमन्त्री तथा केन्द्रीय सदस्य विजयकुमार गच्छदार र पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ।
भेटमा महाधिवेशनको तयारी, पार्टीको वर्तमान आन्तरिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी नेतृत्व चयनका विषयमा गम्भीर छलफल भएको बताइएको छ। कांग्रेसभित्र देखिएका चुनौती, आपसी एकता र भावी राजनीतिक दिशाबारे समेत दुई नेताबीच विचार–विमर्श भएको स्रोतले जनाएको छ।
महाधिवेशन नजिकिँदै जाँदा शीर्ष नेताहरूबीच परामर्श र भेटघाट तीव्र बन्दै गएको सन्दर्भमा यस भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ। कांग्रेसको आगामी नेतृत्व र रणनीतिमा यसले प्रभाव पार्न सक्ने आँकलन गरिएको छ।




