बुटवल, पुस ६ आइतबार ,देश विकासको मूल आधार श्रम संस्कृतिमा रहेको भन्दै श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले हप्तामा कम्तीमा एकदिन देशका लागि श्रम गर्न सबैलाई आह्वान गरेका छन्।

हिजो शनिबार बुटवलमा आयोजित कार्यक्रममा उनले विदेशबाट ऋण ल्याएर समृद्धि सम्भव नहुने दाबी गर्दै भने, “छ दिन आफ्नो लागि काम गरौं, एक दिन देशका लागि श्रम गरौं—त्यसैबाट देश बन्छ।”

चीन, जापान र कोरियाको उदाहरण दिँदै साम्पाङले श्रमको सम्मान गर्ने संस्कृतिले नै राष्ट्र समृद्ध हुने बताए। गफभन्दा काम जरुरी रहेको उनको जोड थियो।

श्रमको सम्मान र काम गर्ने संस्कृतिको विकासका लागि नै श्रम संस्कृति पार्टी स्थापना गरिएको उल्लेख गर्दै उनले धरान उपमहानगरपालिकामा साढे तीन वर्षे कार्यकालमा कुनै अनियमितता नगरेको दाबी गरे। पाँच वर्षपछि भ्रष्टाचार प्रमाणित भए देश छाड्ने चेतावनीसमेत दिए।