विराटनगर, पुस ६ ,नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भाद्र २४ गते भएको विध्वंस जेन–जी आन्दोलनको मूल चरित्र नभएको स्पष्ट पारेका छन्।

विराटनगरमा आइतबार आयोजित ‘नेपाली कांग्रेस र नेपालको यात्रा : हिजो, आज र भोलि’ विषयक युवासँगको संवाद कार्यक्रममा उनले भाद्र २३ गतेको जेन–जी आन्दोलन शान्तिपूर्ण, सचेत र लोकतान्त्रिक आवाजको अभिव्यक्ति भएको बताए।

उनका अनुसार भाद्र २४ गतेको घटनाले आन्दोलनको दिशाभन्दा बाहिर गएर विध्वंसको रूप लिएको थियो, जसमा जेन–जी युवाहरू संलग्न थिएनन्। “त्यो आन्दोलन होइन, अराजकता थियो,” उनले भने, “दुवै दिनका दोषी छुट्याएर निष्पक्ष कारबाही हुनुपर्छ।”

शिक्षा क्षेत्रबारे बोल्दै कोइरालाले शिक्षामा बढ्दो राजनीतिक हस्तक्षेपले गुणस्तर खस्किएको आरोप लगाए। अंग्रेजी र नेपाली माध्यमको विभाजनले समाजमै दुई वर्गका नागरिक उत्पादन भइरहेको उनको टिप्पणी थियो।

कार्यक्रममा युवाहरूका तीखा प्रश्नको सामना गर्दै कोइरालाले शिक्षाबाट राजनीति हटाउनु आजको अपरिहार्य आवश्यकता भएको निष्कर्ष निकाले।