विराटनगर ७ साेमबार ,नेपाली कांग्रेस विराटनगर महानगरको सभापति चयन प्रक्रिया सतहमा हेर्दा आन्तरिक निर्वाचन जस्तो देखिए पनि यसको गहिराइमा गुटीय शक्ति सन्तुलन, पुस्तान्तरण र आगामी स्थानीय निर्वाचनको तयारी गाँसिएको छ। यही कारण यसपटक सभापति पदका लागि उम्मेदवारको भीड देखिएको हो।

डा. शेखर कोइराला समूहभित्रकै द्वन्द्व मुख्य कारक बनेको छ। हालका सभापति दीपक चापागाईंलाई निरन्तरता दिने कि नयाँ अनुहार अघि सार्ने भन्ने स्पष्ट निर्णय नहुनु समूहको कमजोरीका रूपमा देखिएको छ। विकल्पको अभावले अन्ततः चापागाईं नै बलियो उम्मेदवार बन्न सक्ने सम्भावना बढाएको छ।

 स्थानीय संगठन र वडास्तरको प्रभाव निर्णायक बन्दै गएको छ। मतदान अधिकार क्रियाशील सदस्यबाट क्षेत्रीय प्रतिनिधिमा सीमित भएपछि सन्तोष न्यौपाने र अरुण न्यौपानेजस्ता नेताहरूको स्थानीय पकड महत्त्वपूर्ण बन्न पुगेको छ। यसले चुनावलाई विचारभन्दा बढी संगठनात्मक गणिततर्फ धकेलेको छ।

पुस्तान्तरणको बहस चुनावी नारामा सीमित देखिन्छ। अभिषेक गिरी र कृष्ण कार्कीले जेन्जी प्रतिनिधित्वको कुरा उठाए पनि मतदाता संरचना अझै पुरानै नेतृत्वसँग जोडिएको छ। त्यसैले युवा एजेन्डा प्रभावकारी बन्न संगठनात्मक समर्थन अपरिहार्य छ।

राजनीतिक रूपमा हेर्दा, विराटनगर कांग्रेसको यो निर्वाचन केवल सभापति चयन होइन। यो २०८४ को स्थानीय तह निर्वाचनमा कांग्रेसको नेतृत्व कसले गर्ने भन्ने संकेत हो। महानगरको नेतृत्व सम्हाल्ने व्यक्ति मोरङ जिल्लाको कांग्रेस राजनीतिमा पनि प्रभावशाली बन्ने निश्चित छ।

विराटनगर कांग्रेसको सभापति चुनाव व्यक्तिको प्रतिस्पर्धा होइन, शक्ति, गुट र भविष्यको रणनीतिबीचको संघर्ष हो। यही कारण यस निर्वाचनको परिणामले केवल महानगर होइन, समग्र मोरङको कांग्रेस राजनीति कुन दिशामा जाने हो भन्ने चित्र काेर्ने छ ।