व्यवसायी चिन्तित, कर संकलनमा असर पर्ने चेतावनी

विराटनगर, ७ पुस — विराटनगरका दुई ठूला होटलभित्र सञ्चालनमा रहेका क्यासिनोमा प्रहरीले एकैसाथ छापा मार्दा व्यवस्थापकसहित २० जना नेपाली नागरिक पक्राउ परेका छन्।

आइतबार मध्यराति गरिएको छापामा बिग होटलस्थित च्याम्पियन जोन क्यासिनो र रत्ना होटलस्थित गोल्डेन क्यासिनो बाट नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रमुख कबित कट्वालले जानकारी दिइन्। गोल्डेन क्यासिनोबाट १४ जना र च्याम्पियन जोनबाट ६ जना पक्राउ परेका हुन्।

क्यासिनोमा नेपाली नागरिक प्रवेश निषेध भए पनि विराटनगरका यी क्यासिनोमा लामो समयदेखि नेपालीको आवतजावत सहज रहँदै आएको बताइन्छ। यसअघि पनि क्यासिनो परिसरमा झगडा र कुटपिटका घटना सार्वजनिक भइसकेका छन्।

पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम समेत छन्। उनीहरूविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

यता, क्यासिनो व्यवसायीहरूले भने बारम्बारको छापाले भारतीय ग्राहकमा त्रास फैलिएको र त्यसको प्रत्यक्ष असर राज्यको कर संकलनमा पर्ने बताएका छन्। व्यवसायीका अनुसार क्यासिनो क्षेत्र विदेशी पर्यटक लक्षित उद्योग भएकाले नीतिगत स्पष्टता र स्थायित्व आवश्यक छ।