कांग्रेसको क्रियाशील सदस्यता आज नवीकरण ‘लक’, नयाँ वितरण भोलि बन्द हुने
२०८२ पुष ८, मंगलवार १०:४७
काठमाडौं पुस ८ मंगलबार ,नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनको तयारीसँगै क्रियाशील सदस्यता व्यवस्थापनको अन्तिम समयसीमा तोकेको छ। क्रियाशील सदस्यता नवीकरण आज पुस ९ गते मध्याह्न १२ बजेसम्म मात्र खुला रहनेछ भने नयाँ क्रियाशील सदस्यता वितरण पर्सी पुस १० गते ‘सिस्टम लक’ गरिने भएको छ।
महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो। समितिका सदस्य तथा केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’का अनुसार नवीकरणसम्बन्धी विवरण आज मध्याह्नपछि बन्द गरिनेछ र अपराह्न ४ बजे बस्ने बैठकबाट प्रमाणित गरी पार्टीलाई बुझाइनेछ।
नयाँ क्रियाशील सदस्यताको हकमा भने पुस १० गते सिस्टम लक गरेर आवश्यक प्रक्रिया पूरा गरिने समितिको तयारी छ। विदेशस्थित जनसम्पर्क समितिका सदस्यहरूले सदस्यता नपाएको अवस्थामा केन्द्रीय कार्यालयमार्फत वेबसाइटबाट लिन सक्ने व्यवस्था मिलाइएको पनि पार्टीले जनाएको छ।
यसपटक कांग्रेसले क्रियाशील सदस्यता वितरणलाई केही खुकुलो बनाएको छ। मातहतका समितिबाट सदस्यता नपाएका कार्यकर्तालाई केन्द्रीय कार्यालयबाटै सदस्यता उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।
पार्टीको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ। त्यसअन्तर्गत वडा अधिवेशन पुस १६ गते देशभर एकैसाथ गर्ने तयारी गरिएको छ। यद्यपि क्रियाशील सदस्यता वितरण र त्यसमा परेका उजुरीको छानबिन नसकिएकाले तल्ला तहका अधिवेशनको मिति हेरफेर हुनसक्ने चर्चा भने चलिरहेको छ।
महामन्त्री गगन थापाले तोकिएको समयमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने संकेत दिँदै आएका छन्। असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइसकेका छन्, जसअनुसार पुस २९ भित्र विशेष महाधिवेशन गर्नुपर्ने संवैधानिक दबाब कांग्रेसमाथि छ।
तर सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने विशेष महाधिवेशनका पक्षमा छैनन्। उनीहरूको जोड नियमित महाधिवेशनमै रहेपछि मंसिर १५ गतेको केन्द्रीय समिति बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो।




