चुनावको घण्टी बज्यो, एमाले मैदानमा उत्रन तयार
२०८२ पुष ८, मंगलवार १६:०९
काठमाडौं पुस ८ मंगलबार ,राजनीतिक अन्योलको बीच सरकार र प्रमुख प्रतिपक्षबीच चुनावलाई लिएर स्पष्ट संकेत देखिएको छ। च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको भेटपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले देश औपचारिक रूपमा चुनावी प्रक्रियातर्फ अघि बढेको घोषणा गरेका छन्।
एमाले महासचिव शंकर पोखरेलले सरकारलाई स्वतन्त्र र निष्पक्ष वातावरण तयार गर्न आग्रह गर्दै, त्यस्तो अवस्था बने पार्टी चुनावमा सहभागी हुने स्पष्ट सन्देश दिएका छन्।
सरकारका प्रवक्ताका अनुसार एमालेको यो धारणा पहिलोपटक औपचारिक र स्पष्ट रूपमा आएको हो।
“अब मुलुक चुनावमा होमिएको छ,” भन्दै खरेलले सरकारले धाँधलीरहित निर्वाचन सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याए। सरकारको तयारी र वातावरण निर्माणको प्रयासलाई एमालेले सकारात्मक रूपमा लिएको उनको भनाइ छ।
राजनीतिक वृत्तमा यसलाई आगामी निर्वाचनको औपचारिक संकेतका रूपमा हेरिएको छ। लामो समयदेखि चलिरहेको सत्ता–प्रतिपक्षबीचको तनाव अब चुनावी प्रतिस्पर्धातर्फ मोडिन थालेको संकेत यो भेटले दिएको छ।




