काठमाडौं पुस ९ बुधबार , राहदानी विभागले अब आवेदन दिएको दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। राहदानी पुस्तिकाको आपूर्ति सहज भएपछि सेवा पूर्ण क्षमतामा सञ्चालनमा आएको विभागले जनाएको छ।

विभागका अनुसार हालसम्म ३ लाख ९६ हजार थान राहदानी छपाइ गरी आपूर्ति भइसकेको छ। अन्तरिम अवधिका लागि ७ लाख थान पुस्तिका उपलब्ध गराउने निर्णय कार्यान्वयन भएसँगै वितरणमा देखिएको समस्या समाधान भएको दाबी गरिएको छ।

पुस्तिका पर्याप्त भएपछि राहदानी वैयक्तिकरण प्रक्रिया पनि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ। अब जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका नागरिकले छिटो सेवा पाउनेछन्।

मंसिर १५ गतेसम्म आवेदन दिएका नागरिकलाई पुस १५ भित्र राहदानी उपलब्ध गराइने विभागको भनाइ छ। त्यसपछि आवेदन दिनेहरूलाई पनि क्रमशः दुई कार्यदिनमै राहदानी वितरण गरिनेछ।

यससँगै वैदेशिक रोजगारी, अध्ययन, उपचारलगायत प्रयोजनका लागि राहदानी आवश्यक पर्ने नागरिकले अब लामो समय कुर्नु नपर्ने अपेक्षा गरिएको छ।