काठमाडौं पुस १० बिहीबार ,आगामी निर्वाचनलाई पुरानै राजनीतिको पुनरावृत्ति होइन, नयाँ यात्राको सुरुवात बनाइनुपर्ने भन्दै ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले ‘नयाँ शक्ति’को नेतृत्व उज्यालो नेपाल पार्टीले लिने दाबी गरेका छन्।

त्रिपुरेश्वरस्थित उज्यालो घर केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै घिसिङले निर्वाचन समयमै हुने स्पष्ट पार्दै यसपटकको चुनाव परिवर्तनको आधार बन्नुपर्ने बताए।

 उनका अनुसार देशलाई सुशासन र समृद्धिको दिशामा लैजान युवाको निर्णायक भूमिका अपरिहार्य भइसकेको छ।

घिसिङले विखण्डित अवस्थामा रहेका नयाँ राजनीतिक शक्तिहरू अब एउटै मञ्चमा उभिनुपर्ने समय आएको संकेत गरे। व्यक्तित्व, समूह र पार्टीबीच सहकार्य गरेर ‘टिम’ बनाएर चुनावी प्रतिस्पर्धामा जाने तयारी भइरहेको उनको भनाइ थियो।

उनले देशको राजनीतिक नेतृत्व अब परम्परागत घेराबाट बाहिर निस्कनुपर्ने उल्लेख गर्दै परिवर्तनको नेतृत्व उज्यालो पार्टीले गर्ने आत्मविश्वास व्यक्त गरे।