काठमाडौं पुस १२ शनिबार ,राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई सम्भावित द्वन्द्वबाट जोगाउन निर्वाचनअघि नै ‘राजा, राजनीतिक दल र जेनजी’बीच व्यापक राष्ट्रिय समझदारी आवश्यक रहेको बताएका छन्।

 झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले वर्तमान राजनीतिक संरचनामै चुनाव गर्दा समस्या झन् गहिरिने दाबी गरे।

लिङदेनका अनुसार गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र वर्तमान संविधानकै सीमाभित्र देशलाई सही दिशामा लैजान कठिन भएको छ। यही व्यवस्थाअन्तर्गत हुने निर्वाचनले भविष्यमा ठूलो टकराव जन्माउन सक्ने चेतावनी दिँदै उनले “कसैको हार–जित होइन, देशको जित हुने” साझा सहमति खोज्नुपर्ने बताए।

उनले हाल देश ‘गम्भीर दुर्घटनाको डिल’मा पुगेको उल्लेख गर्दै पछिल्ला घटनाक्रमले त्यसको संकेत दिएको दाबी गरे। प्रमुख दलहरूकै पहिचान र नाम फेरिनु राजनीतिक अस्थिरताको प्रमाण भएको उनको टिप्पणी थियो।

देश जोगाउन सबै सरोकारवालाबीच विश्वासको नयाँ आधार निर्माण गर्नुपर्ने लिङदेनको निष्कर्ष छ—जहाँ सत्ता प्रतिस्पर्धा होइन, राष्ट्रिय एकताले प्राथमिकता पाओस्।