काठमाडौं पुस १२ शनिबार ,निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।

आयोगका अनुसार यसपटक कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता नामावलीमा समावेश छन्। अघिल्लो निर्वाचनको तुलनामा ९ लाख १५ हजार ११९ मतदाता थपिएका हुन्।

नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अन्तिम नामावली आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।

मतदाता नामावली ऐन, २०७३ अनुसार अद्यावधिक प्रक्रिया पूरा गरी फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकलाई समेत समेटिएको आयोगले जनाएको छ।

यसैगरी, निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्।