संसदीय राजनीति तर्फ बालेनको पाइला, काठमाडौं–१ रोजाइमा
२०८२ पुष १३, आईतवार १७:५१
काठमाडौं पुस १३ आइतबार,काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भएको सातबुँदे सहमतिपछि बालेनले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेका हुन्।
आइतबार बिहान भएको सहमतिपत्रअनुसार रास्वपाको केन्द्रीय नेतृत्व रवि लामिछानेकै हातमा रहनेछ भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने उल्लेख छ।
यससँगै बालेनको स्थानीय तहको भूमिकाबाट केन्द्रीय राजनीतितर्फको यात्रा औपचारिक बन्ने संकेत देखिएको छ।
मेयर पदको करिब १६ महिना कार्यकाल बाँकी रहँदै बालेनले राजीनामा दिने तयारी गरेका छन्। कानुनी प्रावधानअनुसार प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दर्ताअघि पदबाट राजीनामा दिनुपर्ने हुन्छ। त्यसअनुसार उनले माघ ६ गतेभित्र मेयर पद छोड्ने योजना बनाएका छन्।
संसदीय निर्वाचनका लागि बालेनको रोजाइ काठमाडौं क्षेत्र नं. १ परेको छ। यसअघि झापा क्षेत्र नं. ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने अभिव्यक्ति दिएका बालेन पछिल्लो समय भने राजधानीकै केन्द्रीय राजनीतिक क्षेत्रबाट प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेका छन्।
काठमाडौं क्षेत्र नं. १ राजनीतिक रूपमा सधैं चर्चामा रहने क्षेत्र हो। मदन भण्डारी, विद्यादेवी भण्डारी हुँदै हालसम्म नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। घना बस्ती भए पनि क्षेत्रफलका हिसाबले सानो यो क्षेत्रमा दलगत र स्वतन्त्र दुवै प्रकारका उम्मेदवारको उल्लेख्य उपस्थिति रहँदै आएको छ।
२०७९ को स्थानीय तह निर्वाचनमा बालेन शाहले यसै क्षेत्रअन्तर्गतका वडा १०, ११, २९ र ३१ बाट उल्लेख्य मत प्राप्त गरेका थिए। चारै वडामा उनले प्रतिस्पर्धी उम्मेदवारलाई दोब्बर हाराहारी मतले पछि पारेका थिए। यही मत आधार र लोकप्रियताका कारण पनि काठमाडौं–१ बालेनको मुख्य राजनीतिक केन्द्र बन्न पुगेको विश्लेषण गरिएको छ।
मेयर पदबाट राजीनामा दिएसँगै बालेनको निर्णयले काठमाडौं महानगरको नेतृत्व र राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ। अबको प्रश्न— काठमाडौं–१ ले फेरि इतिहास बदल्छ कि दोहोर्याउँछ?




