कांग्रेसले कुनै शक्तिको ‘वैशाखी’ टेक्नुपर्ने अवस्था नआउने

काठमाडौं, पुस १३, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीले आत्मसमीक्षा गरी सुधारको बाटो समाते कसैको सहारामा राजनीति गर्न नपर्ने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेससँग गाउँगाउँसम्म संगठन, ऐतिहासिक योगदान र लोकतान्त्रिक विरासत रहेको उल्लेख गरे। ती पक्षलाई जनतासामु विश्वासका साथ प्रस्तुत गर्न सके कांग्रेसले कुनै शक्तिको ‘वैशाखी’ टेक्नुपर्ने अवस्था नआउने उनको भनाइ थियो।

उनले सुधार नगरे चारैतिर चुनौती बढ्ने चेतावनी दिँदै कांग्रेस आफैं लोकतन्त्रको संरक्षक र संवाहक भएको दाबी गरे।

यसैबीच कांग्रेस नेता रामनाथ अधिकारीले केन्द्रीय महाधिवेशन पुसमै हुनुपर्ने भए पनि क्रियाशील सदस्यताका कारण केही समय सर्न सक्ने अवस्था रहेको बताए। उनले सदस्यता टुंग्याएर छिटो महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए।

आगामी निर्वाचन नलड्ने घोषणा गरिसकेका अधिकारीले पार्टी राजनीतिमा भने सक्रिय रहने स्पष्ट पारे।