२५ हजार ऋण, आमाको हात र सपनाको दीक्षान्त
२०८२ पुष १४, सोमबार १०:०४
विराटनगर पुस १४ साेमवार, स्नातक तह पूरा गरेपछि दीक्षान्त समारोहमा सहभागी हुने सपना धेरैका लागि सामान्य हुन सक्छ, तर विराटनगरका ओमप्रकाश राजवंशीका लागि त्यो सपना संघर्ष, त्याग र आँसुसँग गाँसिएको थियो। समारोहमा सहभागी हुन उनले २५ हजार रुपैयाँ ऋण काढे र जीवनभरको प्रेरणा बनेकी आमाको हात समातेर काठमाडौं गए ।
वर्षौँसम्म अभावसँग लड्दै, कठिनाइलाई मौन रूपमा सहँदै अघि बढेका ओमप्रकाशका लागि दीक्षान्तको त्यो क्षण कागजी प्रमाणभन्दा धेरै ठूलो थियो। आमाको आँखामा चम्किएको गर्व र खुशीले उनका सबै पीडा बिर्साइदियो।
उनी भन्छन्, “यो मेरो मात्र सफलता होइन, आमाको संघर्षको सम्मान हो।”
त्यो दिन ओमप्रकाशले केवल उपाधि मात्र लिएनन्, उनले आशा, आत्मविश्वास र अझ ठूलो सपना बोकेर नयाँ यात्राको सुरुवात गरे। संघर्षले थाकेको जीवनमा दीक्षान्त समारोह उनका लागि सम्भावनाले भरिएको एउटा भावुक मोड बन्यो।




