`जलपरी’को नाममा नाङ्गोपनको व्यापार !
२०८२ पुष १४, सोमबार २१:२५रूटिन अफ विराटनगरको कडा आक्रमण, प्रशासन मौन किन?

विराटनगर पुस १४ , काेसी प्रदेशकाे विराटनगर संचालित मेलामा महिलालाई अर्धनग्न अवस्थामा सिसाको बाकसभित्र पानीमा राखी ‘जलपरी’ भन्दै टिकट बेचिएको घटनाले देशभर आक्रोश फैलिएको छ। मनोरञ्जनको खोल ओढाएर महिलाको शरीर र गरिबी बेचिएको भन्दै रूटिन अफ विराटनगर अभियानले सामाजिक सञ्जालमार्फत कडा आक्रमण गरेको छ।
अभियानले यो कार्यलाई “संस्कृति, सभ्यता र महिला मर्यादामाथिको निर्लज्ज आक्रमण” भन्दै तुरुन्त बन्द गर्न माग गरेको छ। पोस्टमार्फत भनिएको छ “मनोरञ्जनका नाममा कसैलाई अर्धनग्न बनाएर सिसाको बाकसभित्र राख्नु अपराध हो, तमासा होइन।”
अभियानले प्रश्न उठाएको छ यस्तो खुलेआम अपमान भइरहँदा प्रशासन किन मौन छ?
महिलालाई वस्तुजस्तै प्रदर्शन गरेर पैसा कमाउने आयोजकलाई कानुनी कारबाही किन हुँदैन?
नागरिक समाजले पनि यो घटना मानव अधिकार, लैङ्गिक समानता र नैतिक मूल्यविरुद्धको घोर अपराध भएको बताउँदै तत्काल प्रदर्शन रोक्न र आयोजकलाई जवाफदेही बनाउन माग गरेको छ।
मनोरञ्जनको नाममा नाङ्गोपन र अपमान बेच्ने प्रवृत्तिलाई अब सहन नहुने चेतावनीसहित प्रशासनको स्पष्ट र कडा हस्तक्षेपको माग तीव्र बन्दै गएको छ।




