काठमाडौं, पुस १५ — नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ। आयोगबाट निस्सा लिएपछि कांग्रेसले आज बिहान करिब साढे ११ बजे ११० जनाको नामावली दर्ता गराएको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलसहितको टोलीले सूची बुझाएको कांग्रेसले जनाएको छ। पार्टीले यसपटक पुराना अनुहारभन्दा नयाँ पुस्तालाई अघि सार्ने नीति लिएको छ। २०६४ देखि २०७९ सम्म अवसर पाइसकेकालाई समानुपातिक सूचीमा नसमेट्ने निर्णयअनुसार सूची तयार गरिएको प्रचार विभागले जनाएको छ।

१४ पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्र सूचीमा अटाएका छन्। पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी पनि नुवाकोटबाट समानुपातिक सिफारिसमा परेका छन्।

सूचीमा ३५ वर्षमुनिका १५ जना समावेश छन्। नेविसंघ, तरुण दलजस्ता भातृ संगठनमा सक्रिय रहेकालाई समेत अवसर दिइएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।

कांग्रेसले समानुपातिक सूचीमार्फत पार्टीभित्र पुस्तान्तरण र समावेशीतालाई सन्देश दिन खोजेको देखिन्छ।