संसद विघटन मुद्दामा तत्काल फैसला आवश्यक : ओली
२०८२ पुष १५, मंगलवार १९:१८
काठमाडौं पुस १५ ,नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ढिलाइ नगरी तत्काल फैसला गर्नुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले देश गम्भीर राजनीतिक अप्ठ्यारोमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा अदालतले तदारुकता देखाउनुपर्ने धारणा राखे। देश संकटमा परेका बेला न्यायिक निर्णय ढिला हुनु देशका लागि झनै घातक हुने उनको भनाइ थियो।
“समयमै न्याय नदिनु भनेको न्याय नदिनु सरह हो,” उनले भने, “यस्तो जटिल अवस्थामा ढिलाइ गरियो भने फैसलाको औचित्य नै समाप्त हुन सक्छ।”
ओलीले संसद पुनर्स्थापनाबाहेक अर्को विकल्प नरहेको दाबी गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा एमाले स्पष्ट र दृढ रहेको बताए।
अदालतले छिटो निर्णय गरेर देशलाई लोकतान्त्रिक बाटोमा अघि बढाउन सहयोग गर्नुपर्ने उनले आग्रह गरे।“फैसला भएपछि अर्को कुनै विकल्प रहँदैन, प्रतिनिधिसभा पुनर्स्थापना नै एकमात्र उपाय हो,” ओलीको भनाइ थियो।




