सम्पादकीय लेख 

आज पुस १६ फेरि आयो। भाषण, माल्यार्पण र औपचारिक श्रद्धाञ्जली भइरहेका छन्। तर साँचो प्रश्न के हो भने बीपी कोइरालाले रोजेको राष्ट्रिय मेलमिलापको मर्म आजका राजनीतिक नेतृत्वले बुझेका छन् त? उत्तर तिताे छ छैन

बीपी कोइरालाले मेलमिलाप रोज्नु आत्मसमर्पण थिएन। त्यो सत्ता–सम्झौता होइन, राष्ट्रलाई दिइएको अन्तिम चेतावनी थियो। भारतमा सिक्किम विलय हुँदै गर्दा, एसियामा देशहरू टुक्रिँदै गर्दा बीपीले देखे—राजनीतिक अहंकारले राष्ट्र पनि समाप्त हुन्छ।

आजका नेताहरूले त्यो इतिहास पढेनन्, वा पढेर पनि बुझ्न चाहेनन्।

बीपीका उत्तराधिकारीहरू आज मेलमिलापको नाम लिन्छन्, तर व्यवहारमा प्रतिशोध, ध्रुवीकरण र सत्ता सौदाबाजी मात्रै देखिन्छ।
बीपीले भने—राष्ट्र पहिला, पार्टी पछि।
आजका नेताहरू भन्छन्—सत्ता पहिला, राष्ट्र पछि।

यही कारण मेलमिलाप दिवस भाषणमा सीमित छ, व्यवहारमा होइन।

बीपीले सशस्त्र संघर्ष किन अस्वीकार गरे?
किनकि उनले बुझेका थिए—राजनीतिक भिडन्त जित्न सकिएला, तर राष्ट्र हार्छ।
आज भने सडक तताउने, संस्थामाथि अविश्वास फैलाउने र एक–अर्कालाई देशद्रोही ठहर गर्ने प्रवृत्ति हावी छ।
यो राजनीति लोकतन्त्रको रक्षा होइन, लोकतन्त्रको अन्त्यको अभ्यास हो।

बीपी राजा विरोधी मात्र थिएनन्, उनी निरङ्कुशताविरोधी थिए। आजका नेताहरू भने विरोधकै नाममा संवाद अस्वीकार गर्छन्। बीपीले राजा र प्रजातन्त्रबीच संवाद खोजे, आजका नेताहरू संस्थामाथि लात हान्दै लोकप्रियता खोजिरहेका छन्।

यो नै फरक हो—राजनीतिक उचाइ र राजनीतिक हठको।

धेरैले भन्छन्—बीपीको मेलमिलाप असफल भयो।
सत्य के हो भने—मेलमिलाप होइन, त्यसलाई बुझ्ने नेतृत्व असफल भयो। बीपी जेल परे, पीडित भए, तर उनको विचार २०४६ मा जित्यो।
आज सत्ता कब्जा गर्नेहरू भोलि इतिहासमा हार्नेछन्—बीपीले यही चेतावनी दिएका थिए।

आज बीपी जीवित हुन्थे भने प्रश्न सोध्थे—
“तिमीहरूले देश जोड्यौ कि सत्ता बाँड्यौ?”

मेलमिलाप दिवस मनाउनु सजिलो छ।
तर मेलमिलापको राजनीति बाँच्नु साहसको काम हो जुन आजको नेतृत्वसँग छैन।