भेडेटारमा स्वाद, संस्कृति र पर्यटनको संगम
२०८२ पुष १६, बुधबार २१:५०
धरान पुस १६ , सुनसरी–धनकुटा सिमानाको चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा बुधबारदेखि १३औँ संस्करणको भेडेटार खाना महोत्सव सुरु भएको छ।
अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै होटल एसोसिएसन भेडेटारले आयोजना गरेको यो महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ।
‘भेडेटार प्रकृतिको गहना, पर्यटन भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नारासहित सुरु भएको महोत्सवको उद्घाटन कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री षडानन्द मण्डलले गरेका हुन्। महोत्सवमा अर्गानिक तरकारी तथा फलफूल, स्थानीय परिकार, हस्तकला, कृषि औजार र घरेलु तथा साना उद्योगका उत्पादनहरूको आकर्षक प्रदर्शनी राखिएको छ।
होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूका अनुसार महोत्सव अवधिभर भेडेटार आएका पर्यटकलाई स्काइ वाक, पाथीभरा मन्दिर, शङ्खेश्वर मन्दिर, आत्माघर, सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरी गढी, नाम्जे होमस्टे र ध्वजे डाँडालगायत गन्तव्यको अवलोकन गराइनेछ।
महोत्सवमा ५० देखि ६० हजार पर्यटक आउने र २ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ।
पर्यटन व्यवसायी प्रदिप पोखरेलले यस्ता कार्यक्रमले आन्तरिक मात्र नभई विदेशी पर्यटकसमेत आकर्षित गरी भेडेटारको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने बताए




