जनकपुर  पुस १६, मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रदेश सरकारलाई अन्ततः पूर्णता दिएका छन्। बुधबार थप ६ मन्त्री नियुक्त भएसँगै यादव नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको हो।

नवनियुक्त मन्त्रीहरूले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। विस्तार गरिएको मन्त्रिपरिषद्मा विभिन्न मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरिएको छ।

श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मनिषकुमार सुमनले पाएका छन् भने भौतिक पूर्वाधार विकास मन्त्रालय राजकुमार गुप्ताको काँधमा पुगेको छ। वन तथा वातावरण मन्त्रालय शंकरप्रसाद चौधरीले सम्हाल्ने भएका छन्। 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय श्यामप्रसाद पटेललाई दिइएको छ भने खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी वसन्त कुशवाहाले पाएका छन्। गृह, सञ्चार तथा कानुन मन्त्रालय फकिरा महतोको भागमा परेको छ।

लामो समयदेखि अपूरो रहेको मन्त्रिपरिषद् विस्तारपछि अब मधेस सरकारको कार्यसम्पादन प्रभावकारी हुने अपेक्षा गरिएको छ।