काठमाडौं पुस १८ शुक्रबार , नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको ठहर गरेको छ। 

शुक्रबार पुस १८ गते बसेको बैठकले १५औँ महाधिवेशनको प्रक्रिया विधानअनुसार अघि बढिसकेको भन्दै विशेष महाधिवेशनको माग स्वतः निरर्थक भएको निष्कर्ष निकालेको हो।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा मंसिर १५ गते केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा पारित गरिसकेको उल्लेख छ। सोही निर्णयसँगै विधानबमोजिम महाधिवेशनको प्रक्रिया अघि बढेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भएको कांग्रेसको ठहर छ।

विज्ञप्तिमा ‘समयमै नियमित १५औँ महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन’ भन्ने माग मंसिर १५ यतैबाट स्वतः अन्त्य भएको स्पष्ट पारिएको छ। कांग्रेसले अब सम्पूर्ण ध्यान नियमित महाधिवेशनतर्फ केन्द्रित हुने संकेतसमेत दिएको छ।