काठमाडौं  पुस १८ शुक्रबार ,एमाले र कांग्रेसले विघटित संसद पुनर्स्थापना गर्ने कदम चाले त्यसविरुद्ध पुनः कडा आन्दोलन गर्ने चेतावनी संयुक्त जेनजी आन्दोलनले दिएको छ। राजधानीको संवाद डबलीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आन्दोलनले संसद पुनर्स्थापना अस्वीकार्य रहेको स्पष्ट पारेको हो।

आन्दोलनका प्रवक्ता विर्जन विश्वकर्माले विघटित प्रतिनिधि सभालाई फर्काउने प्रयासले जनआन्दोलनबाट हासिल परिवर्तनमाथि प्रश्न उठाउने बताए। उनले जेनजी आन्दोलनको बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्नुपर्ने बेला पुरानै अनुहारहरू सत्ता पुनःकब्जा गर्न लाग्नु गम्भीर खतरा भएको टिप्पणी गरे।

कमाण्डर सुनिल सिंहले संसद पुनर्स्थापनालाई प्रतिगामी कदम भन्दै कुनै पनि हालतमा रोक्नुपर्ने धारणा राखे। ‘विघटित संसद फर्काउनु भनेको इतिहासले त्यागिसकेको संरचनालाई जबर्जस्ती जिउँदो पार्न खोज्नु हो,’ उनले भने।

आन्दोलनकी अगुवा नर्गिस थापाले माग पूरा नभएसम्म सडक संघर्ष जारी रहने जनाइन्। अन्य नेताहरू अमृत कुमार बोहोरालगायतले नयाँ–पुराना नेताहरूको गठजोडले जेनजी आन्दोलनको भावनामाथि प्रहार गरिरहेको आरोप लगाए।