वैदेशिक रोजगारीका २० लाख युवा, कोषमा ५ अर्बभन्दा बढी रकम
२०८२ पुष १८, शुक्रबार २१:२२
काठमाडौं पुस १८ , वैदेशिक रोजगारीमा गएका नेपाली युवाको सामाजिक सुरक्षा कोषमा उल्लेख्य सहभागिता देखिएको छ। हाल कोषमा २६ लाखभन्दा बढी योगदानकर्ता आबद्ध छन्, जसमा २० लाख ५१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा रहेका श्रमिक छन्।
कोषका अनुसार उनीहरूले हालसम्म ५ अर्ब १३ करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरिसकेका छन्। श्रम स्वीकृति लिने क्रममा अनिवार्य आबद्धता र प्रतिव्यक्ति २,५०० रुपैयाँ शुल्कका कारण सुरुवातमै संख्या धेरै देखिएको हो। तर नियमित योगदान गर्नेहरू भने करिब ९५ हजार मात्रै छन्।
सूचना अधिकारी डा. रोशन कोजुका अनुसार पछिल्लो समय एकमुष्ट रूपमा ७४ महिनासम्मको योगदान गर्ने प्रवृत्ति बढ्दो छ। हाल ९४ मुलुकमा रहेका श्रमिकले डिजिटल भुक्तानी माध्यमबाट कोषमा रकम पठाइरहेका छन्।
युएई, साउदी, कतार, मलेसिया, कुवेत, दक्षिण कोरिया, जापान, रोमानिया, बहराइन र ओमान योगदान गर्ने शीर्ष १० मुलुक हुन्।
नियमित योगदान कम हुनुका कारण जानकारीको अभाव, म्यानपावरको लापरबाही, सरकारप्रति अविश्वास र सामाजिक सञ्जालका गलत प्रचार रहेको कोषले जनाएको छ।
कोषमा योगदान गरेबापत श्रमिक र परिवारले उपचार खर्च, दुर्घटना बीमा, आश्रित सुरक्षा र वृद्धावस्था निवृत्तभरणजस्ता सुविधा पाउने व्यवस्था छ।




