अब चुनावतर्फ देश, सर्वपक्षीय सरकारको अध्याय समाप्त : प्रचण्ड
२०८२ पुष १९, शनिबार १८:५५
सङ्खुवासभा खाँदबारी पुस १९, देश अब स्पष्ट रूपमा निर्वाचनको बाटोमा अघि बढिसकेको भन्दै नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वपक्षीय सरकार गठनको सम्भावना समाप्त भइसकेको बताएका छन्।
शुक्रबार सङ्खुवासभाको खाँदबारीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा दाहालले निर्वाचन प्रक्रिया सुरु भइसकेकाले अब सरकार परिवर्तन वा पुनर्गठनको कुनै औचित्य नरहेको दाबी गरे।
समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकिएकाले मुलुक अब चुनावी मोडमा प्रवेश गरिसकेको उनको भनाइ थियो।
जेनजी युवापुस्ता निर्वाचनको पक्षमा रहेकाले अन्योलको अवस्था नरहेको उल्लेख गर्दै दाहालले अहिलेको सरकारले नै आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउन सक्ने स्पष्ट पारे।
काठमाडौँ फर्किनुअघि पत्रकारसँग कुरा गर्दै उनले संसद् पुनःस्थापना नहुने र वर्तमान सरकारले नै निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा दोहोर्याए। संविधान निर्माणका क्रममा गरिएको प्रतिबद्धताअनुसार १० वर्षपछि संविधानको समीक्षा गर्दै आवश्यक संशोधन र परिमार्जन गरिने उनले स्मरण गराए।
जेनजी आन्दोलनको मर्मअनुसार राजनीतिक दलहरू नयाँ जनादेशतर्फ जानु अपरिहार्य भएको उनको निष्कर्ष थियो।




