काठमाडौं पुस २० ,पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दै छन्।

 भारतमा रहेका नेपालीहरूसँग प्रत्यक्ष संवाद र भेटघाट गर्ने उद्देश्यसहित उनको यो छोटो भ्रमण तय गरिएको हो।

नेपाली समाज भारतको निमन्त्रणामा आयोजना हुने ‘नेकपा एकता सन्देश सभा तथा साक्षात्कार’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै प्रचण्डले प्रवासी नेपाली समुदायका साझा सरोकार, समस्या र सम्भावनाबारे धारणा राख्नेछन्। कार्यक्रम विशेषतः भारतमा बसोबास गरिरहेका नेपालीहरूको एकता र भूमिकालाई केन्द्रमा राखेर आयोजना गरिएको बताइएको छ।

दिल्लीमा हुने उक्त कार्यक्रममा प्रचण्डले प्रवासमा नेपालीहरूले भोग्दै आएका सामाजिक, आर्थिक तथा कानुनी चुनौतीका विषयमा सम्बोधन गर्ने कार्यतालिका छ। साथै, उनले प्रवासी नेपालीहरूको योगदान, हकहितको संरक्षण र मातृभूमिसँगको सम्बन्धलाई कसरी अझ सुदृढ बनाउने भन्ने विषयमा पनि स्पष्ट धारणा प्रस्तुत गर्नेछन्।

कार्यक्रमकै क्रममा नेपाल–भारत सम्बन्धका समसामयिक आयाम, ऐतिहासिक पृष्ठभूमि र भविष्यका सम्भावनाबारे समेत उनले आफ्ना विचार राख्ने जनाइएको छ। नेपाली समाज भारतका अनुसार भारतभर छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा राजनीतिक चेतनाको विकास गर्नु कार्यक्रमको मूल उद्देश्य हो।

प्रचण्डको भारत भ्रमण पूर्ण रूपमा कार्यक्रमकेन्द्रित र सीमित अवधिको रहने उनको सचिवालयले जनाएको छ। भ्रमणका क्रममा अन्य कुनै उच्चस्तरीय राजनीतिक भेटघाटको कार्यतालिका नरहेको र कार्यक्रम सम्पन्न भएपछि उनी सोमबार साँझ नै स्वदेश फर्कने बताइएको छ।

यस भ्रमणलाई भारतमा रहेका नेपाली समुदायसँगको सम्बन्ध अझ मजबुत बनाउने र प्रवासी नेपालीका आवाज प्रत्यक्ष रूपमा सुन्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।