काठमाडौं पुस २० गते प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्।

अस्पताल स्रोतका अनुसार पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा घट्नु र रिंगटा लाग्ने समस्या देखिएपछि बिहीबार उनलाई अस्पताल ल्याइएको हो। हाल क्याबिनमा राखी उपचार भइरहेको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार सुवेदी यसअघि प्रोस्टेटको शल्यक्रिया गराइसकेका व्यक्ति हुन्। प्रोस्टेटसम्बन्धी समस्या भएका वृद्ध पुरुषमा पिसाब नली साँघुरो भई संक्रमण दोहोरिन सक्ने जोखिम रहने चिकित्सकहरूको भनाइ छ।

प्रधानमन्त्री निकट स्रोतले भने, “उहाँ बेला–बेलामा बिरामी पर्नुहुन्छ। अहिले देखिएको समस्याबारे चिकित्सकसँग निरन्तर परामर्श भइरहेको छ।”

चिकित्सकहरूका अनुसार मिर्गौला, पिसाब थैली वा पिसाब नलीमा किटाणु प्रवेश गर्दा पिसाब नलीको संक्रमण (यूटीआई) हुन्छ। सरसफाइको कमी, पिसाब राम्रोसँग ननिस्कनु, पिसाबको बाटोमा अवरोध हुनु वा प्रोस्टेट बढ्नु यसका मुख्य कारण मानिन्छन्।

विशेष गरी वृद्ध पुरुषहरूमा प्रोस्टेटसम्बन्धी समस्याका कारण यस्तो संक्रमण बारम्बार देखिने गरेको चिकित्सकहरूको अनुभव छ।