पश्चिमी वायुको प्रभाव, कोसीमा वर्षा र हिमपातको संकेत
२०८२ पुष २१, सोमबार ०६:४७
विराटनगर , पुस २१ , देशभर पश्चिमी वायुको प्रभाव कायमै रहँदा कोसी प्रदेशमा मौसम केही बदली हुने संकेत देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानमा भने बाक्लो हुस्सु तथा कुहिरो लागेको छ।
विशेषगरी कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। यसले कोसीको हिमाली भेगमा चिसो बढ्नुका साथै जनजीवन प्रभावित हुन सक्ने देखिन्छ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा पनि आंशिक बदली रहने भए तापनि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ।
रातिको समयमा तराईका अधिकांश स्थानमा पुनः हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको भन्दै विभागले सवारीसाधन चलाउँदा सतर्कता अपनाउन अनुरोध गरेको छ।




