विराटनगर पुस २१ कोशी प्रदेश सरकारमा व्यापक मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा पुगेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १० जना मन्त्री हटाई नयाँ मन्त्री नियुक्त गर्ने प्रक्रिया बुधबारसम्म टुंग्याउने तयारी गरेका छन्।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपका अनुसार मंगलबार दिउँसो १ बजे संसदीय बोर्डको बैठक बसेर नयाँ मन्त्रीको नाम टुंग्याइनेछ। स्रोतका अनुसार मंगलबार साँझसम्म नयाँ मन्त्रीहरूको शपथग्रहण हुनसक्नेछ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पार्टी शीर्ष नेतृत्वसँग छलफल गरी मन्त्रीको नाम लगभग निश्चित गरिसकेको बताइएको छ। प्रस्तावित नामअनुसार भौतिक पूर्वाधार मन्त्रालयमा ओखलढुंगाका प्रदीपकुमार सुनुवार, पर्यटन मन्त्रालयमा विराटनगरका भीम पराजुली र स्वास्थ्य मन्त्रालयमा मोरङका मानबहादुर लिम्बू जाने सम्भावना छ।

 उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा सुनसरीका इस्राइल मन्सुरीको नाम अगाडि सारिएको छ।

एमालेतर्फ आर्थिक मामिला तथा योजना मन्त्रालयमा धनकुटाका इन्द्रमणि पराजुली र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा संखुवासभाका विदुरलाई जिम्मेवारी दिने तयारी छ। सामाजिक विकास र खानेपानी मन्त्रालयमा समेत नयाँ अनुहार ल्याउने चर्चा छ।

२०८१ वैशाख २७ मा बनेको कार्की नेतृत्वको सरकार केन्द्रको गठबन्धन परिवर्तनपछि पटक–पटक हेरफेरको प्रयासमा थियो। कांग्रेसभित्रको आन्तरिक विवादका कारण रोकिएको पुनर्गठन अब अन्ततः हुने देखिएको छ।

हाल कोशी प्रदेश सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित ५ मन्त्री र १ राज्यमन्त्री तथा कांग्रेसबाट ३ मन्त्री र १ राज्यमन्त्री छन्। नयाँ राज्यमन्त्रीको टुंगो भने अझै लाग्न सकेको छैन।