काठमाडौं, पुस २२ — नेपालमा पहिलोपटक पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन कानुनी बाटो खुलेको छ। मन्त्रिपरिषद् बैठकले इथानोल मिश्रणसम्बन्धी निर्देशिका स्वीकृत गरेसँगै नेपाल आयल निगमलाई यसको कार्यान्वयनको अधिकार प्राप्त भएको हो।

निगमले लामो समयदेखि इथानोल मिसाउने योजना बनाए पनि नीतिगत स्वीकृति नपाउँदा प्रक्रिया रोकिएको थियो। निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टका अनुसार स्वीकृत कार्यविधि प्राप्त भएपछि सार्वजनिक सूचना निकालेर इथानोल खरिद प्रक्रिया अघि बढाइनेछ।

उनले पेट्रोलमा इथानोल मिसाउँदा वातावरणीय प्रदूषण कम हुनुका साथै वैदेशिक मुद्रा सञ्चितिमा पनि सहयोग पुग्ने बताए। भारत र ब्राजिलजस्ता देशमा पेट्रोलमा १० देखि २५ प्रतिशतसम्म इथानोल मिश्रण हुँदै आएको उदाहरण उनले दिए।

नेपालमा हाल चिनी उद्योगहरूले मोलासिस (खुदो) बाट इथानोल उत्पादन गर्दै आएका छन्, जसको ठूलो हिस्सा निर्यात हुँदै आएको छ। अब स्वदेशमै खपत सुनिश्चित भएपछि उद्योगीहरूले आपूर्ति गर्न चासो देखाएका छन्।

निगमका अनुसार पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन दैनिक करिब दुई लाख लिटर, ९९.५ प्रतिशत शुद्ध इथानोल आवश्यक पर्छ। इथानोल उत्पादन निजी क्षेत्रले गर्नेछ भने मूल्य निर्धारण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्नेछ।

इथानोल मिसिएपछि पेट्रोलको मूल्य घट्ने सम्भावना भए पनि अन्तिम असर कर नीतिमा निर्भर हुने निगमको भनाइ छ। सरकारले करमा सहुलियत दिए मूल्य घट्न सक्ने, नत्र उपभोक्ताले प्रत्यक्ष राहत नपाउने संकेत गरिएको छ।

इथानोल मिश्रित पेट्रोलले इन्जिनमा समस्या पार्छ कि भन्ने आशंका निराधार भएको निगमको दाबी छ।