काठमाडौं पुस २३ ,नेपालबाट विदेश जाने नेपालीको संख्या वर्षेनी बढ्दै गएको छ। तर विदेश जाने र स्वदेश फर्कनेबीचको अन्तर भने पछिल्ला वर्षहरूमा क्रमशः घट्दै गएको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ।

अध्यागमन विभागका अनुसार सन् २०२५ मा १७ लाख १८ हजार ६८८ नेपाली विदेश प्रस्थान गरेका छन्। सोही अवधिमा १५ लाख ८ हजार २५८ जना नेपाली स्वदेश फर्किएका छन्। यसरी हेर्दा विदेश जाने र फर्कनेबीचको अन्तर २ लाख १० हजार ४३० रहेको छ।

विभागका निर्देशक टीकाराम ढकालका अनुसार सन् २०२५ मा नेपालीको कुल आवत–जावत संख्या ३२ लाख २६ हजार ९४६ पुगेको छ। यो संख्या सन् २०२४ को तुलनामा १ लाख ४ हजार ११७ ले बढी हो।

तथ्याङ्कअनुसार सन् २०२५ मा औसतमा

प्रत्येक दिन ४ हजार ७०८ जना,

प्रत्येक घण्टा १९६ जना,

प्रत्येक मिनेट ३.२६ जना नेपाली विदेश गएका छन्।

त्यसैगरी,

प्रत्येक दिन ४ हजार १३२ जना,

प्रत्येक घण्टा १७२ जना,

प्रत्येक मिनेट २.८६ जना नेपाली स्वदेश फर्किएका छन्।

अघिल्लो वर्ष सन् २०२४ मा विदेश जाने र फर्कनेबीचको अन्तर २ लाख ६८ हजार ४३६ थियो। सन् २०२३ मा यो अन्तर ३ लाख ४० हजार ३६७ र सन् २०२२ मा ३ लाख ९२ हजार ६५९ रहेको थियो।

चार वर्षको तथ्याङ्कले विदेश जाने नेपालीको संख्या निरन्तर बढ्दै गएको र फर्कनेको संख्या पनि क्रमशः सुधार हुँदै गएको देखाउँछ, तर विदेशिनेको संख्या अझै बढी छ।

अध्यागमन विभागका अनुसार सन् २००२ देखि २०२५ सम्मको २४ वर्षमा १ करोड ९९ लाख ५३ हजार १७५ पटक नेपाली विदेश प्रस्थान गरेका छन्। यही अवधिमा १ करोड ७० लाख ८७ हजार १२७ पटक नेपाली स्वदेश फर्किएका छन्।