ईटहरी पुस २३ ,पूर्वी नेपाल अब केवल ट्रान्जिट होइन, गन्तव्य बन्ने संकेत देखिन थालेको छ। सुनसरीको इटहरी–९ मा अमेरिकी अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘रमडा बाइ विन्डम’ सञ्चालनमा आउने तयारीसँगै कोशी प्रदेशमा पाँचतारे होटलको संख्या चार पुगेको छ।

करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो होटल व्यवसायी देशबन्धु बस्नेत (अजित) को नेतृत्वमा पूर्वी नेपालमा पहिलोपटक भित्रिएको अमेरिकी चेन हो। जनवरीको अन्तिम सातादेखि होटल सञ्चालनमा आउने निश्चित भएको बस्नेत बताउँछन्।

८१ कोठासहितको होटलमा टेरेस बार, अल–डे डाइनिङ रेस्टुरेन्ट, ब्यांक्वेट हल, मिटिङ रुम, स्वीमिङ पुल, जिम, स्टिम–साउना र आउटडोर लाउन्ज छन्। होटलले ८० भन्दा बढी स्थानीयलाई रोजगारी दिनेछ।

यसअघि झापाको बिर्तामोडमा किङ्सबेरी, काँकरभिट्टामा मेची क्राउन र इटहरीमै सोल्टी क्राउन सञ्चालनमा छन्। ‘रमडा’ खुलेसँगै कोशी प्रदेश पाँचतारे होटलको नयाँ चरणमा प्रवेश गरेको छ।

प्रदेश होटल व्यवसायी संघका अध्यक्ष राजन श्रेष्ठका अनुसार अब कोशीमा थप ७ वटा पाँचतारे होटल पाइपलाइनमा छन्। विराटनगर, झापा र भेडेटार केन्द्रित यी परियोजनाले प्रदेशको पर्यटन अर्थतन्त्रलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

भारतको बिहार र पश्चिम बंगालसँगको भौगोलिक नजिकोपनलाई अवसरका रूपमा प्रयोग गर्दै इटहरीलाई विवाह, सम्मेलन र धार्मिक पर्यटनको हब बनाउने लक्ष्य होटलको छ। भेडेटार, इलाम, कोशी टप्पु, बराहक्षेत्र र चतराधामजस्ता गन्तव्यमा पर्यटक बढ्ने विश्वास गरिएको छ।

इन्जिनियर पेशाबाट पर्यटन उद्यमी बनेका बस्नेत हाल काठमाडौंमा ‘मर्क्योर काठमाडौं’ पनि सञ्चालन गरिरहेका छन्। अब उनको नजर पूर्वी नेपाललाई विश्व होटल नक्सामा स्थायी रूपमा राख्ने लक्ष्यतर्फ छ।

कोशी प्रदेशका लागि ‘रमडा’ केवल होटल होइन विश्व बजारतर्फ खुलेको नयाँ ढोका हो।