काठमाडौं पुस २३, आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन नेपाल प्रहरीले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रहरीका अनुसार देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ भने केन्द्रदेखि जिल्लासम्म निर्वाचन लक्षित विशेष सेल सक्रिय भइसकेका छन्।

प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले नियमित गस्ती, सघन चेकजाँच र निगरानीलाई तीव्र बनाइएको जानकारी दिए। जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीलाई नियन्त्रणमा लिन विशेष अभियान चलाइएको र अधिकांशलाई नियन्त्रणमा लिइसकिएको प्रहरीको दाबी छ।

आन्दोलनका बेला क्षति पुगेका प्रहरी संरचनामध्ये प्रायः सबै पुनर्निर्माण भई सञ्चालनमा आइसकेका छन्। यस प्रक्रियामा नागरिकको सहयोग उल्लेखनीय रहेको प्रहरीले जनाएको छ।

प्रहरी संगठनको मनोबल उच्च रहेको र सेवासुविधा, कल्याणकारी कार्यक्रम तथा शहीद परिवारको संरक्षणलाई प्राथमिकतामा राखिएको पनि स्पष्ट पारिएको छ। निर्वाचन सुरक्षाका लागि करिब ७७ हजार नियमित प्रहरी र १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी परिचालन गरिने तयारी छ।

मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरेर सुरक्षा योजना बनाइएको प्रहरीको भनाइ छ। मतदाता, उम्मेदवार र निर्वाचनमा खटिने कर्मचारी सबैका लागि सुरक्षित वातावरण सुनिश्चित गरिने भएकाले नागरिकले कुनै डर वा त्रास बिना मतदान गर्न सक्ने अवस्था तयार भएको प्रहरीको दाबी छ।