काठमाडौं पुस २४,नेपाली कांग्रेसभित्र चुलिँदो असन्तुष्टि र सम्भावित विभाजनको चर्चाबीच सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलले पार्टीलाई फुटतर्फ होइन, समझदारीतर्फ मोड्ने संकेत दिएको छ।

नेता डा. शेखर कोइरालासहित पदाधिकारीहरूबीच भएको छलफलमा कोइरालाले स्पष्ट शब्दमा चेतावनी दिए—“पार्टी फुटको पीडा बोकी नसक्ने हुन्छ।”

उनले विभाजन कति जनाले पार्टी छोड्छन् भन्ने अंकगणितभन्दा पनि त्यसले दिने गलत सन्देश खतरनाक हुने तर्क राखे। पार्टीभित्रै समाधान खोज्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा उनले जोड दिए।

डेढ घण्टाको ‘वन–टु–वन’ संवाद छलफलअघि कोइरालाले सभापति देउवासँग करिब डेढ घण्टा एक्लै संवाद गरेका थिए। सो भेटमा कोइरालाले अघि सारेको प्रस्तावमा संस्थापन पक्षको धारणा मागिएको बताइन्छ।

छलफलमा सहभागी एक नेताका अनुसार देउवाले पनि मिलाउने जिम्मेवारीबाट पछि नहट्ने संकेत गरेका छन्।
उनको सन्देश स्पष्ट थियो“सकेसम्म मिलाएर लैजानुस्। उनीहरू पार्टी छोड्नै तयार छैनन् भने समझदारी सम्भव छ। पार्टीकै बैठकबाट औपचारिक आह्वान गर्नुहोस्, व्यक्तिगत पहल पनि जारी राख्नुहोस्।”

देउवाले पार्टी फुट हुन नदिन आफूले पनि सक्रिय प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन्।

देउवा निवासको छलफलपछि सबै नेता कार्यसम्पादन समितिको बैठकका लागि सानेपा पुगेका छन्। आजको बैठक कांग्रेसको आन्तरिक द्वन्द्व समाधानतर्फको महत्त्वपूर्ण मोड बन्न सक्ने अपेक्षा गरिएको छ।