किसान ‘आइडल’ बन्ने मञ्च : दूध दुहुने रियालिटी शो ‘दूध’
२०८२ पुष २४, बिहीबार १८:३९
काठमाडौं पुस २४, अब किसान पनि रियालिटी शोका स्टार बन्नेछन्। नेपालमै पहिलो पटक पशुपालक किसानलाई केन्द्रमा राखेर दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुँदैछ।
चितवनका २० जना व्यावसायिक किसान सहभागी हुने शोमा दूध दुहुने सीप मात्र होइन, पशुप्रतिको व्यवहार, गोठको सरसफाइ, आहारा व्यवस्थापन र दूधको शुद्धता समेत मूल्याङ्कन गरिनेछ।
निर्माता रविन सुवेदीका अनुसार, पशुपालनमार्फत आत्मनिर्भर बनेका किसानको मेहनत र सफलतालाई सम्मान गर्न यो शो ल्याइएको हो। कार्यक्रम संयोजक गोविन्द न्यौपाने भन्छन्, “किसानलाई पनि ‘आइडल’ बनाउने समय आएको छ।”
हरेक मंगलबार साँझ एपी वान टेलिभिजन, ‘मेरो सेरोफेरो’ युट्युब च्यानल र सिनर्जी एफएम मार्फत प्रसारण हुने शोले नयाँ पुस्तालाई पशुपालनको संघर्ष र सम्भावनासँग जोड्ने अपेक्षा गरिएको छ।




