को हुन् पृथ्वीनारायण शाह ?
२०८२ पुष २७, आईतवार १२:०१
काठमाडौ पुस २७, पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता हुन्। उनको जन्म वि.सं. १७७९ पुस २७ गते गोरखा दरबारमा राजा नरभूपाल शाह र रानी कौसल्यावतीको सुपुत्रका रूपमा भएको थियो। वि.सं. १७९९ मा २० वर्षको उमेरमै गोरखाको राजा बनेका उनले साना–साना बाइसे र चौबिसे राज्यहरूलाई एकीकृत गर्ने अभियान सुरु गरे।
नुवाकोट विजयपछि काठमाडौं उपत्यकामा प्रवेशको ढोका खोलेका पृथ्वीनारायण शाहले क्रमशः कान्तिपुर, ललितपुर र भक्तपुर विजय गर्दै नेपाल एकीकरणको आधार तयार गरे। उनले विदेशी हस्तक्षेपको कडा विरोध गरे र नेपाललाई “चार वर्ण छत्तीस जातको फूलबारी”को रूपमा कल्पना गरे, जुन कुरा उनको दिव्योपदेशमा स्पष्ट देखिन्छ।
सैन्य रणनीति, कूटनीति र धैर्यताको अद्भुत प्रयोग गरेर उनले इस्ट इन्डिया कम्पनीको फौजलाई समेत सिन्धुलीगढीमा पराजित गरे। यही कारण नेपाल उपनिवेश हुनबाट जोगियो।
उनको निधन वि.सं. १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा ५२ वर्षको उमेरमा भयो। मृत्युको कारणबारे विभिन्न मत भए पनि प्रामाणिक रूपमा उनी बिरामी भएर निधन भएको मानिन्छ।
पृथ्वीनारायण शाह कुनै एक व्यवस्थाका प्रतिनिधि होइनन्, उनी नेपाल नामको राष्ट्र निर्माण गर्ने ऐतिहासिक पात्र हुन्। आजको नेपाल उनीकै एकीकरण प्रयासको परिणाम हो।




