ओलीको क्षेत्रमा चुनावी रणनीति दाहालको हातमा
२०८२ माघ ९, शुक्रबार २१:४१५ सय १ सदस्यीय परिचालन समिति गठन, ९ उपसमिति सक्रिय

झापा माघ ९ शुक्रबार , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको जिम्मेवारी देवेन्द्र दाहाललाई दिइएको छ । गौरादहमा शुक्रबार बसेको निर्वाचन क्षेत्र नम्बर ५ को समन्वय कमिटी बैठकले दाहालको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।
समितिमा दीपक कार्की र मेनुका काफ्ले सहसंयोजक तोकिएका छन् । केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार परिचालन समितिअन्तर्गत ९ वटा उपसमिति गठन गरिएको छ, जसले निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
परिचालन कमिटीमा केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी संरचना समेटिएका छन् । केन्द्रीय कमिटी सदस्य, आयोग, विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, सल्लाहकार परिषद्, जनसंगठन तथा निर्वाचित जनप्रतिनिधिहरूलाई समेत जिम्मेवारी दिइएको छ । साथै क्षेत्रीय तथा प्रदेश समन्वय कमिटीहरू पनि निर्वाचन केन्द्रित हुनेछन् ।
संयोजक दाहाल पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री हुन् । उनी २०४८ सालदेखि ओलीको निर्वाचन रणनीतिमा सक्रिय रहँदै आएका छन् । सहसंयोजक कार्की एमाले केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य हुन् भने काफ्ले पार्टी केन्द्रीय सदस्य तथा अनेम संघकी केन्द्रीय उपाध्यक्ष हुन् ।
क्षेत्रीय संयोजक तथा परिचालन कमिटीका सचिव नारायण गौतमले विगतमा सफल निर्वाचन सञ्चालन गरेका नेतृत्वको अनुभव यसपटक पनि निर्णायक हुने बताए । “अध्यक्ष ओलीलाई जिताउन मतदाता केन्द्रित कार्यक्रम लिएर घरघरमा पुग्छौँ,” उनले भने ।
परिचालनका लागि ६९ सदस्यीय सचिवालय गठन गरिएको छ । माघ १२ गतेभित्र वडा र टोलस्तरीय प्रचार समिति गठन गरिसक्ने निर्णय भएको छ ।
९ उपसमितिमध्ये कार्यालय सञ्चालन उपसमितिको संयोजक नारायण गौतम, प्रचार सामग्री व्यवस्थापनमा होमबहादुर थापा, प्रचार प्रसारमा दीपक कार्की, आर्थिक व्यवस्थापनमा रोमनाथ ओली, स्वयंसेवक परिचालनमा गोविन्द थापा र प्रशासन समन्वयमा देवेन्द्र दाहाल रहेका छन् । कानुनी परामर्श उपसमितिको संयोजक नारायण भट्टराई तोकिएका छन् ।




