माघ १६ मा जनकपुरमा बृहत् सभा, गगन–विश्वप्रकाशसहित शीर्ष नेताको सहभागिता

काठमाडौं माघ १० शनिबार , नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी अभियान मधेश प्रदेशबाट औपचारिक रूपमा सुरु गर्ने भएको छ। पार्टीले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय बृहत् सभा आयोजना गर्दै चुनावी मैदानमा होमिन लागेको हो।

जनकपुरमा हुने उक्त सभालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। पार्टीले उपसभापति शर्मालाई केन्द्रीय चुनावी प्रचार–प्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ।

सभाको समग्र तयारी तथा व्यवस्थापनका लागि केन्द्रीय तहबाट संयोजन गरिने जनाइएको छ। मधेश प्रदेश प्रचार संयोजक नितेशकुमार गुप्ताका अनुसार सभाको तयारी स्वरूप प्रदेश समितिको बैठक शनिबार बस्दैछ।

‘माघ १६ गतेको सभामा लाखौँको सहभागिता हुने अपेक्षा छ,’ गुप्ताले बताए, ‘त्यसअनुसार प्रचार–प्रसार र व्यवस्थापनको काम तीव्र पारिएको छ।’

यसैबीच, कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बनेसँगै मधेश प्रदेशलाई केन्द्रमा राखेर कांग्रेसले आफ्नो चुनावी गतिविधि आक्रामक बनाएको देखिन्छ।

 यसपटकको निर्वाचनमा अधिकांश दलहरूले मधेशलाई राजनीतिक रणनीतिको केन्द्रमा राखेका छन्।

यसअघि जनकपुरमै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावी सभा गरिसकेको छ, जहाँ काठमाडौंका पूर्वमेयर बालेन शाहले औपचारिक रूपमा चुनावी सभालाई सम्बोधन गरेका थिए।

मधेशबाट सुरु हुने कांग्रेसको चुनावी अभियानले आगामी दिनमा राजनीतिक तापक्रम अझै बढाउने संकेत देखिएको छ।