काठमाडौं माघ ११ आइतबार ,राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ पदका लागि आज सातै प्रदेशमा मतदान हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएका मतदान केन्द्रमा सञ्चालन हुनेछ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने पदका लागि भएको निर्वाचनमा कुल १८ मध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गत एक पदमा भने निर्वाचन नहुने भएको छ। उक्त पदमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्।

निर्विरोध बाहेक बाँकी १७ पदका लागि सातै प्रदेशमा मतदान केन्द्र निर्धारण गरिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेस प्रदेशमा जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, बागमती प्रदेशमा हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदान हुनेछ।

त्यसैगरी गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा घोराही, कर्णाली प्रदेशमा वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरलाई मतदान केन्द्र तोकिएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।