विराटनगर माघ ११ आइतबार ,कोशी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका तीन सदस्यमा काँग्रेस र एमालेले सफलता हात पारेका छन्। नेपाली काँग्रेसका सुनिलबहादुर थापा तथा नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका हुन्।

काँग्रेसका थापा यसअघि नै निर्विरोध चयन भइसकेका थिए भने आइतबार सम्पन्न मतदानबाट एमालेका दुई उम्मेदवार विजयी भए। प्रतिस्पर्धामा रहेका नेकपा (एकीकृत समाजवादी) का खेम सुन्दास र नमिता न्यौपाने पराजित भए।

पूर्वमन्त्रीसमेत रहेका थापा २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटाबाट निर्वाचित भएका अनुभवी नेता हुन्। एमालेतर्फ दलित कोटाबाट निर्वाचित पोर्तेल झापा जिल्ला समन्वय समितिका पूर्वप्रमुख हुन् भने अल्पसंख्यक मेचे समुदायकी रोशनी मेचे पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत रहिसकेकी नेतृ हुन्।

प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा सम्पन्न निर्वाचनमा काँग्रेस, एमाले र जनता समाजवादी पार्टीबीच सहकार्य देखिएको थियो।