जनकपुर माघ १२ साेमवार ,मधेश प्रदेशको राजधानी जनकपुरधाम पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भ्रमणलाई पूर्णतः धार्मिक र पारिवारिक आस्थासँग जोडिएको बताएका छन्। परिवारसहित जनकपुर आएका उनले जानकी मन्दिरसहित विभिन्न धार्मिक स्थलमा पूजा–पाठ गर्दै दिन बिताएका हुन्।

सोमबार दिउँसो जानकी मन्दिर पुगेका पूर्वराजा शाहलाई मन्दिर परिसरमा उपस्थित श्रद्धालु तथा समर्थकहरूले स्वागत गरेका थिए। विशेष पूजा सम्पन्न गरेपछि उनी करिब आधा किलोमिटर पैदल हिँड्दै राम मन्दिरसम्म पुगे, जहाँ पनि शान्त भावमा धार्मिक कर्ममा सहभागी भए।

पूजा सम्पन्नपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै पूर्वराजा शाहले आफ्नो यो यात्रा कुनै पनि राजनीतिक उद्देश्यले नभई धार्मिक विश्वास र पारिवारिक परम्परासँग जोडिएको स्पष्ट पारे।

यस क्रममा केही हिन्दुवादी समूह तथा राप्रपाका कार्यकर्ताहरूले ‘राजा आऊ, देश बचाउ’ जस्ता नाराहरू लगाए पनि पूर्वराजा शाहले त्यसप्रति कुनै प्रतिक्रिया जनाएनन्। उनले आफूलाई राजनीतिक गतिविधिबाट टाढा राख्दै भ्रमणलाई आस्थामै सीमित गरेको जनाइएको छ।

पूर्वराजा शाहको आगमनले जनकपुरधाममा केही समय चहलपहल देखिए पनि कुनै राजनीतिक सन्देश वा गतिविधि नदेखिएको स्थानीय प्रशासनले जनाएको छ। धार्मिक दर्शन र पूजा–पाठपछि उनी परिवारसहित पूर्वनिर्धारित कार्यक्रमअनुसार अघि बढेका छन्।