लाइसेन्स घुस काण्ड : यातायात प्रमुखदेखि प्रहरीसम्म घेराबन्दीमा
२०८२ माघ १३, मंगलवार २१:२८
काठमाडौँ माघ १३ मंगलबार , सवारी चालक अनुमतिपत्र बनाइदिने नाममा घुसखोरी भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित २७ जनाको मोबाइल नियन्त्रणमा लिएको छ।
अख्तियारका अनुसार यातायात कार्यालयका १७ कर्मचारीका २४ वटा मोबाइल जफत गरिएको हो। यसैगरी, लाइसेन्स परीक्षामा खटिएका उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन प्रहरीको मोबाइल पनि नियन्त्रणमा परेको छ।
निजी क्षेत्रसमेत अनुसन्धानको दायरामा परेको छ। नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका प्रबन्धक बालकृष्ण सिंहसहित ७ जनाका ९ वटा मोबाइल अख्तियारले जफत गरेको छ।
लिखित परीक्षामा फेल भएका व्यक्तिलाई नियमविपरीत तीन महिना नपुग्दै पुनः परीक्षामा सहभागी गराइएको आरोप छ। सोसँग सम्बन्धित उत्तरपुस्तिका र कागजात पनि अख्तियारको नियन्त्रणमा छन्। अनुसन्धान जारी छ।




