भदौ २३ को घटनामा ओलीको स्पष्टिकरण: ‘गोली चलाउने आदेश मैले कहिल्यै दिएँन’
२०८२ माघ १४, बुधबार १९:४५
काठमाडौं माघ १४ बुधबार ,पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते भएको घटनामा आफूले गोली चलाउने कुनै आदेश नदिएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नाविरुद्ध फैलाइएका आरोपहरूलाई निराधार भनेका छन्।
ओलीका अनुसार नेपालको संविधानले प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नै दिँदैन। “त्यस्तो आदेश न त मैले दिएको छु, न त दिन सक्ने सोच नै राख्छु,” उनले लेखेका छन्।
संसद् भवनअघि आगजनी प्रयास र विस्फोटक प्रयोग भएपछि अवस्था शान्तिपूर्ण आन्दोलनको सीमाभन्दा बाहिर गएको ओलीको दाबी छ। कानुनअनुसार यस्तो गतिविधि राज्यविरुद्धको हमला मानिने र सुरक्षाफौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलेको उनको भनाइ छ।
घटनापछि भएको क्षतिप्रति दुःख व्यक्त गर्दै ओलीले १९ जना युवाको मृत्युलाई अत्यन्त पीडादायी भनेका छन्। साथै उनले प्रश्न उठाएका छन्— “माइतीघरको शान्तिपूर्ण प्रदर्शन संसद् भवनतर्फ कसले, किन र कसरी मोड्यो?”
ओलीले आफू कुनै पनि मञ्चमा बसेर प्रश्नको जवाफ दिन तयार रहेको भन्दै सामाजिक सञ्जालको गलत प्रचारमा नलाग्न आग्रह गरेका छन्।




