काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै यस्ता सवारी कुनै पनि अवस्थामा प्रयोग गर्न नपाइने स्पष्ट पारेको हो।

आयोगका अनुसार राजनीतिक दल, उमेदवार, दलका भातृ संगठन वा व्यक्तिले निर्वाचन प्रचारका लागि प्रयोग गर्ने सबै सवारी साधन अनिवार्य रूपमा नेपाली नम्बर प्लेटका हुनुपर्नेछ। विदेशी नम्बर प्लेटको सवारी प्रयोग गरी प्रचारप्रसार गरिएको पाइएमा सम्बन्धित सवारी साधन तत्काल नियन्त्रणमा लिइने र सम्बन्धित उमेदवारमाथि कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

निर्वाचन अधिकृतको अनुमति लिएर तोकिएको संख्याभित्र प्रयोग गरिने सवारी साधनमा समेत यो नियम लागू हुने आयोगको स्पष्टोक्ति छ। आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षलाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ।

उल्लेखनीय छ, प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।