प्रदेश र स्थानीय निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : गगन
२०८२ माघ १७, शनिबार १७:३८
काठमाडौं माघ १७, नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश र स्थानीय तहको निर्वाचनअघि नै पार्टीको नियमित महाधिवेशन सम्पन्न हुने बताएका छन्।
शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले नयाँ महाधिवेशनपछि पार्टीमा टिकट वितरण प्रणाली पूर्ण रूपमा तल्लो तहबाट हुने स्पष्ट पारे। उनका अनुसार अब प्रदेश तथा अन्य तहका टिकटका लागि पार्टी सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था रहने छैन।
पार्टीभित्र कुनै गुट नरहेको दाबी गर्दै उनले विगतको ६०/४० भागबन्डाको अभ्यास समाप्त भएको बताए। कांग्रेसले अब पार्टीभित्र र बाहिर दुवै ठाउँमा भागबन्डा नगर्ने र सबैलाई समान व्यवहार गर्ने नीति अवलम्बन गर्ने उनको भनाइ छ।
सभापति थापाले नागरिक र पार्टीलाई बलियो बनाउने अभियान पार्टीभित्र सुरु भइसकेको उल्लेख गर्दै यसलाई “बदलिँदो कांग्रेस” को संकेतका रूपमा व्याख्या गरे। पार्टी सभापतिको बन्द कोठाबाट निर्णय गर्ने पुरानो अभ्यास अन्त्य भएको उनले बताए।




