दालभात खाने प्रतिस्पर्धामा रिसाल अव्वल
२०८२ माघ १८, आईतवार २१:२५
काठमाडौं माघ १८ आइतबार ,धेरैका लागि दैनिकीको परिकार भात, आयुस रिसालका लागि भने इतिहास बन्यो। नेपालमै पहिलोपटक आयोजित दालभात खाने प्रतियोगितामा रिसालले सबैलाई पछि पार्दै उपाधि जितेका छन्।
मोनालिसा थकालीद्वारा आयोजित प्रतियोगितामा रिसालले १५ मिनेटमा १,२३६ ग्राम दालभात खाएर पहिलो स्थान हासिल गरे। दोस्रो स्थानमा अशोक न्यौपाने (७३६ ग्राम) र तेस्रो स्थानमा सरोज देसार (७०४ ग्राम) रहे।
उपाधिसँगै रिसालले १५ हजार नगद पुरस्कारसहित पोखरा–मुस्ताङ ट्रिप हात पारेका छन्। दोस्रो हुनेले पाँच हजार र तेस्रो हुनेले तीन हजार रुपैयाँ तथा गिफ्ट ह्याम्पर प्राप्त गरे।
प्रतियोगितामा १३० जनाको सहभागिता थियो। एक हप्तासम्म चलेको प्रतिस्पर्धाबाट आयुस रिसालसहित अशोक न्यौपाने, सरोज देसार, आर्यन थापा, स्वकर हमाल, अरुण कुनुवार, आयुस्मा महत, असिम राई, प्रसुन अधिकारी र रोजन तामाङ टप–१० मा परेका थिए।
जितपछि उत्साहित रिसालले भने,
“पहिल्यै जित्छु भन्ने आत्मविश्वास थियो। कहिल्यै स्कुल टुर जान पाइनँ, आज भात खाएर पोखरा–मुस्ताङ जान पाइयो। सबैले भाते भन्थे, आज देशकै नम्बर वान भाते भएँ।”
मोनालिसा थकालीकी कार्यकारी निर्देशक निर्मला ओलीले पहिलोपटक यस्ताे फरक प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न पाउँदा गर्व लागेको बताइन्।




